समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेले जरिवानाको पत्र बुझ्न अस्वीकार गरेपछि काठमाडौँ महानगरपालिकाले इमेल र हुलाकमार्फत पत्र पठाएको छ। आइतबार भौतिक रूपमा पत्र दिन जाँदा एमालेले अस्वीकार गरेपछि महानगरले वैकल्पिक माध्यमबाट पत्र पठाएको हो। महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेका अनुसार सोमबार बिहान इमेल र हुलाकद्वारा पत्र पठाइएको छ।
शुक्रबार दरबारमार्गमा आयोजित एमालेको जागरण सभाका क्रममा सडक र फुटपाथमा फोहर गरिएको भन्दै काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। त्यसपछि आइतबार महानगरको टोली दलबलसहित जरिवाना गरिएको पत्र लिएर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेको थियो।
तर, एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले उक्त पत्र लिन अस्वीकार गर्दै कार्यक्रमको आयोजक कार्यालयलाई नै पत्र बुझाउन आग्रह गरे। अधिकारीका अनुसार केन्द्रीय कार्यालय कार्यक्रमको प्रत्यक्ष आयोजक नभएकाले जरिवानाको चिट्ठी लिन उपयुक्त पक्ष आयोजक नै हुने बताए।