समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उनीलाई शीतल निवासमा आयोजित विशेष समारोहमा सम्मान प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।
नेपाल र भारतबीच सन् १९५० देखि चल्दै आएको परम्पराअनुसार, एकअर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा दिने परम्पराअनुरूप द्विवेदीलाई यो सम्मान दिन लागिएको हो। राष्ट्रपति कार्यालयका अनुसार कार्यक्रम आज दिउँसो पौने २ बजे सुरु हुनेछ। पाँचदिने औपचारिक भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका सेनाध्यक्ष द्विवेदीले यसअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग औपचारिक भेट गर्नेछन्।
गत असार १६ गते भारतीय सेनाध्यक्ष बनेका द्विवेदीको यो पहिलो विदेश भ्रमण हो। नेपाल बसाइको क्रममा उनले विभिन्न धार्मिक र पर्यटकीय स्थलहरूको भ्रमण गर्ने योजना समेत बनाएका छन्।