समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाले बिहीबार बिहान जङ्गी अड्डामा ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।
प्रधानसेनापति अशोक राज सिग्देलको निमन्त्रणामा बुधबार काठमाडौं आइपुगेका द्विवेदीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ। नेपाल र भारतबीच सेनाका प्रमुखहरूलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ।
भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गरेका छन्। उनले प्रधानसेनापति सिग्देलसँग औपचारिक भेटघाट गर्नुका साथै कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।
यसबाहेक, उनले पश्चिम पृतना मुख्यालयको भ्रमण गर्ने र प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।