समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौंको गौशालामा शुक्रबार काठमाडौं महानगरपालिकाको प्रहरी र स्थानीयबासीबीच तनाव उत्पन्न भएको छ। फुटपाथमा अवैध रूपमा निर्माण गरिएको संरचना हटाउन महानगरको प्रहरी बल डोजरसहित पुगेपछि मारवाडी सेवा समिति र स्थानीयले सडकमा उत्रिएर प्रतिकार गरेपछि स्थिति तनावपूर्ण बनेको हो।
महानगरले गौशालामा रहेको धर्मशाला खाली गराउन प्रयास गर्दा स्थानीयबासीले अवरोध गर्न थालेका थिए। अतिक्रमित संरचना हटाउने क्रममा सामान्य धकेलाधकेल भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। स्थानीयले अदालतको आदेशविपरीत महानगरले अवैध कदम चाल्न खोजेको भन्दै आक्रोश पोखेका थिए। महानगरले डोजर चलाए ढुंगामुढा गर्ने चेतावनी समेत दिएका छन्।
काठमाडौं जिल्ला अदालतले मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जा गरिरहेको पशुपति क्षेत्र विकास कोषको जग्गामा मोहियानी हक नलाग्ने फैसला गरेपछि महानगरले धर्मशाला खाली गराउन खोजेको हो। तर, स्थानीय र समितिले उक्त कदमको विरोध गर्दै अवरोध गरेका छन्।