समाचार सुन्नुहोस :
काठमाडौँ – ललितपुरको मितेरी सहकारीमा करोडौं बचत हिनामिना गरेको आरोपमा व्यवस्थापक ज्योति गुरूङ र व्यवसायी ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का प्रवक्ता एसपी होविन्द बोगटीका अनुसार केही दिनअघि उनीहरूविरुद्ध उक्त नोटिस जारी भएको हो।
महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ्स एन्ड क्रेडिट को-अपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना भएको आरोपमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ। रेड कर्नर नोटिस जारी भएकी ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्। यद्यपि, सम्बन्धविच्छेद भइसके पनि धनराजले २०८१ सालसम्म ऋण तिरिरहेको प्रमाण भेटिएको छ।
सहकारीका अध्यक्ष कुम्मराज गुरूङले संसदीय विशेष छानबिन समितिमा दिएको बयानमा ज्योतिले व्यवस्थापकको हैसियतमा सहकारीको ठूलो रकम हिनामिना गरेको बताएका छन्।