कुनै बेला देविका बन्दना (प्रधान)लाई फिल्मका गीत गाउन भ्याइनभ्याई हुन्थ्यो । जुन गीत गाउँथिन्, ती दर्शक/श्रोताको जिब्रोमा झुन्डिइहाल्थे । मान्छेलाई चिनाउन सयौं गीत गाउनुपर्छ भन्ने छैन एउटा गीत नै काफी हुन्छ, तर उनले गाएका प्रायः सबै गीत चर्चामा रहे । सानै देखिको गाउने बानी अनि आत्मादेखिको इच्छाले उनलाई सफलताको यो शिखरसम्म पु-याएको छ । विश्वभर कोरोना महामारी चलिरहेका बेला देविकाले क्यान्सरविरुद्धको लडाइँ जितिन् । निरन्तर गीत संगीतमा सक्रिय रहँदै आएकी उनै देविकासँग समुद्रपारिका लागि नृप रावलले गीत संगीत र जीवन संघर्षका विषयमा गरेको कुराकानीको सम्पादित अंश :-
धेरैले थाहा नपाउँदै तपाईँले क्यान्सर जितेर ‘सरप्राइज’ दिनुभयो । त्यो कठिन समयलाई कसरी सम्झिनुहुन्छ ?
कोभिड–१९ सुरु हुनुअघिदेखि नै देविकाको ‘ब्रेस्ट’ दुख्ने गर्थ्यो । चिकित्सकलाई देखाएँ तर पनि ठूलो समस्याका रूपमा लिएनन् । म बुटवलमा जुमबाट एकल साँझमा सहभागी भइरहँदा दुखाइ बढ्न थाल्यो । काठमाडौं आएँ । डाक्टरलाई देखाउनेबित्तिकै क्यान्सर भएको थाहा पाएँ, तेस्रो स्टेजमा छ भन्नुभयो । अचानक यस्तो सुनेपछि डरको मात्रा बढ्यो । अब बाँच्दिनँ भन्ने मात्र भयो । तारादेवी थापा (गायिका) दिदीलाई क्यान्सर थाहा थियो । अब मलाई जान्नु थियो तर, सिधै भन्ने आँट आएन । दिदीलाई फोन त गरें, मलाई क्यान्सर भयो भन्न अप्ठ्यारो लाग्यो । मेरो साथीलाई ब्रेस्टमा क्यान्सर भयो, कस्तो हुन्छ, के हुन्छ भनिदिनु भनेँ । उहाँको कुराले झन् नर्भस भएँ । सुरुमा किमोथेरापी गर्दा निकै डर लाग्थ्यो । चार–पाँच दिनसम्म मर्छु कि भन्ने लाग्यो तर सबैको हौसलाले म अहिले यहाँ छु । क्यान्सर भन्ने बित्तिकै हामी डराउँछौं । मर्छु भन्ने त्रास भइरहन्छ । तर इच्छाशक्ति र परिवारको साथ भयो भने चाँडै निको हुने रहेछ ।
क्यान्सरमुक्त हुँदाको क्षणबारे भनिदिनुस् न !
मलाई क्यान्सर भएकोबारे निकै कमलाई मात्रै भनेकी थिएँ । उपचार चलिरहँदा पनि म सांगीतिक कर्मलाई सक्रिय नै थिएँ । त्यहीबीच मैले ११ वटा गीत रेकर्ड गाएँ । अरूलाई थाहा नदिएकाले मलाई कार्यक्रममा बोलाउनु हुन्थ्यो । लोब्स, मास्क लगाएर जान्थेँ, कतिपय बेला त कार्यक्रम भएको एकछिनपछि किमो लगाउनु पर्ने हुन्थ्यो, कार्यक्रम सकिने बित्तिकै किमो लगाउन अस्पतालतिर दौडिन्थेँ । आफ्नो व्यक्तिगत भोगाइ किन सबैलाई भन्दै हिँड्नु भन्ने लाग्यो र किताब लेख्ने सोच बनाएँ थाले पनि । क्यान्सर भएको मान्छे गीत गाउन हिँडेको छु, गीत रेकर्ड गराएको छु, विश्व रेकर्ड नै राख्छु कि क्या हो भन्ने पनि लाग्यो । वर्ल्ड रेकर्डका नेपाल प्रतिनिधिलाई घरमा बोलाएँ, उहाँलाई सबै कुरा सुनाएँ । पछि वर्ल्ड रेकर्ड दिने निर्णय भएको छ भनेर फोन आयो, मेरा खुसीका सीमा रहेन । मै किताब लेख्दै छु, जुन दिन विमोचन हुन्छ, त्यही दिन रेकर्ड पनि दिनु होला भनेर जवाफ दिएँ । किताब ‘जित्नेको हाँसो’ २०८० वैशाखमा विमोचन भयो । क्यान्सरकै अवस्थामा एक दर्जन गीत गाउन सकेकामा सोही दिन लन्डनस्थित वर्ल्ड बुक अफ रेकर्ड ‘आइकनिक परफर्मिङ आर्टिस्ट’का रूपमा कदर पत्र पाएँ । त्यो दिन मेरा जीवनको सबैभन्दा खुसीको दिन बन्न पुग्यो ।सांगीतिक जगतमा यति धेरै चर्चा कसरी पाए जस्तो लाग्छ ?
सानोमा सबैले तिमीले राम्रो गाउँछौ भन्ने हौसलाले नै यो क्षेत्रमा आएँ । मलाई साथीहरूले रेडियो नेपालमा ट्राई गर भनेपछि मैले त्यहाँ भ्वाइस टेष्ट दिएँ । म औपचारिक रूपमा रेडियो नेपालबाट भ्वाइस टेष्टपछि नै आएकी हुँ । रेडियो नेपालमा मलाई बुलु मुकारुङ दाइले भ्वाइस टेष्टका लागि एकदमै सहयोग गर्नुभएको थियो । र मैले लामो समयदेखि सांगीतिक क्षेत्रमा निरन्तरता दिएँ । जति सके त्यति मिहिनेत गरेर मैले सकेसम्म राम्रो गर्ने कोसिस गर्दै गए । त्यसैले मेरा गीतहरूलाई आम जनताले रुचाउनु भएको हो जस्तो लाग्छ । किनकि म संगीतको लागि नै जन्मेको हो जस्तो लाग्छ ।
एक हजारभन्दा धेरै गीत गाउनु भएको छ, सयौं गीत लोकप्रिय छन्, आफ्ना गायनको त्यो स्वर्णिम युगलाई कसरी समीक्षा गर्नुहुन्छ ?
म आफूलाई भाग्यमानी ठान्छु । दर्शक स्रोताले मैले जुन गीत गायो, त्यही गीत मन पराइदिनुभयो । चलचित्रका गीत, आधुनिक, भजन सबै गीत मन पराइदिनुभयो । कहिलेकाहीँ आफैं पनि सुन्छु आफ्ना गीत रमाइलो लाग्छ । राम्रो काम गरेकी रहेछु भन्ने लाग्छ यसर्थ आफूलाई भाग्यमानी पनि ठान्छु ।
यहाँलाई देविका बन्दना भनेर कुन गीतले चिनायो अर्थात् यहाँको करिअरको ‘ट्रनिङ प्वाइन्ट’ कुन गीतलाई लिनुहुन्छ ?
गीत त मैले धेरै नै गाएँ । आफ्ना सिर्जना सबै उत्कृष्ट लाग्छ नै । तर पनि देविका वन्दना भनेर चिनाउने गीतमा ‘यस्तै रहेको यहाँको चलन…’लाई अत्यधिक मन पराइएको छ । आदरणीय दाइ यादव खरेलको रचना र आदरणीय शम्भुजित सरको संगीत रहेको यो गीतमा मलाई एकदमै ठूलो आशीर्वाद छ । त्यतिबेलै शम्भुजित सरले भन्नुभएको थियो, ‘यो गीत एकदमै राम्रो गाएकी छौ देविका, यो गीतले तिमीलाई एकदमै प्लस प्वाइन्ट हुन्छ, तिमीलाई यो गीतले चिनाउँछ ।’ साँच्चै त्यस्तै नै भयो । उहाँको ठूलो आशीर्वाद छ ममा । यो गीत गाइसकेपछि मैले पछाडि फर्केर हेर्नु परेन । मैले धेरैभन्दा धेरै गीतहरू चलचित्रमा, आधुनिक, भजनहरू गाएकी छु ।
चलचित्र र अन्य गीत गाउन कुन सजिलो लाग्छ ?
चलचित्रको गीत गाउँदा अलिकति कथामा डुबेर, यो गीतमा कुन नायिकाले अभिनय गर्नुहुँदैछ, कसले लिपसिङ गर्नुहुँदैछ त्यो सबै जानकारी लिएर अलिकति क्यारेक्टरमा डुबेर गाउनुपर्छ । अन्य आधुनिक, भजन, राष्ट्रिय गीत गाउँदा आफूमा नै डिपेन्ड हुन्छ । तर, चलचित्रमा गाउँदाचाहिँ बाँधिनुपर्छ । आधुनिक गीत गाउँदा जुन स्वतन्त्रता महसुस हुन्छ, फिल्मी गायनमा त्यस्तो नहुँदो रहेछ । पाश्र्व गायनमा फिल्मको कथावस्तु, भावलाई बढी ख्याल गर्नुपर्छ । दुवै नै मलाई रमाइलो लाग्छ गाउनलाई ।
गीत संगीत र जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
संगीत भनेको सरस्वती माताको वरदान हो । संगीतलाई म पूजा गर्छु । जीवनको अभिन्न अंगका रूपमा मैले गीत संगीतलाई लिएकी छु । संगीतमा जति काम गर्दै गयो उत्ति नै आनन्द मिल्छ । मेरो हकमा कुरा गर्नुहुन्छ भने गीत संगीतबिना म बाँच्न नै सक्दिन । म मर्दा पनि गीत गाउँदै मर्न पाऊँ भन्ने लाग्छ । यही क्षेत्रबाट मैले छिन्नलता, दक्षिण गोर्खा बाहुदेखि लिएर धेरै मान सम्मान, पुरस्कार र अवार्ड प्राप्त गरेको छु । यो माया, सद्भाव, सम्मानका लागि सबैप्रति आभारी छु । दुई सयभन्दा बढी अवार्डहरू होलान् । चलचित्रका गीतहरूबाट पनि धेरैभन्दा धेरै पुरस्कार लिएकी छु ।नेपाली गीत संगीतको वर्तमान अवस्थालाई कसरी लिनुहुन्छ ?
अहिलेको संगीतको कुरा गर्दा मलाई रमाइलो लाग्छ । नयाँ–नयाँ संगीतकारहरू आउनुभएको छ । राम्रो गरिरहनुभएको छ । अहिले प्रविधिले फड्को मारेको छ । नयाँ नयाँ प्रयोगहरु गीत संगीतमा भएका छन् । त्यसैले समयको माग अनुसार चल्नु अनिवार्य आवश्यकता जस्तै भइसकेको छ । समयको माग र श्रोताको चाहानाअनुसार परिवर्तन हुँदै जानु कलाकारमा हुनुपर्ने गुण हो जस्तो लाग्छ । तर युवा पुस्ताका केही सर्जकले नेपाली भन्दा अन्य गीत संगीतलाई बढी महत्व दिएको हो कि भन्ने पनि लाग्छ । अभिभावकले नेपाली गीततर्फ प्रेरित गराउनुपर्छ । नेपाली गीतलाई सम्पत्तिका रूपमा व्याख्या गराएर पनि हामी हाम्रो गीत संगीतलाई उचाइ दिन सक्छौँ । नेपाली गीत हाम्रो संस्कार र संस्कृति हो, त्यसैले माया गर्नुपर्छ ।
चलचित्रका गीत गाउन छोड्नु भएको हो ?
मलाई थुप्रै निर्देशक तथा प्रोडुसरहरुले चलचित्रका गीत गाउनका लागि आग्रह गरिरहनु भएको छ । तर, आफ्नै कारणले गर्दा गाउन सकिरहेको थिएन । अब फिल्मको गीत गाएर पुराना सांगीतिक दिन सम्झन मन छ । क्यान्सर रोग त जितें, अब फेरि सबैको मन जित्ने गरी गाउनेछु ।
अन्त्यमा तपाईँ गायन क्षेत्र बाहेक अन्य काम के मा रुचि राख्नुहुन्छ ?
६/६ महिनामा फलोअप हुने भएकाले मेरो दैनिकी तालिका फेरिएको छ । बाँकी जीवन संगीतकर्म र क्यान्सर पीडितलाई सचेतना जगाउने अभियानमा समर्पित गर्नेछु । म लाइन्स क्लबमा पनि छु । जहाँ महिलाहरु मात्र हुन्छन् । मलाई समाज सेवा मन पर्छ । अर्को मेरो युट्युब च्यानल पनि छ । त्यसमा म खानाको बारेमा सामग्री राख्ने गर्छु ।