समाचार सुन्नुहोस :
काठमाडौँ – काभ्रेको पाँचखाल नगरपालिका–८ स्थित अरनिको राजमार्गको ५० किलो क्षेत्रमा खसेको सुक्खा पहिरोले बन्द भएको सडक अब एकतर्फी रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले पहिरो पन्छाएर सडक एकतर्फी खोलिएको जानकारी दिनुभयो। पहिरोका कारण दुईतर्फी अवरुद्ध भएको सडक स्थानीय पालिका र सडक विभागको समन्वयमा सफा गरी मर्मतपछि फेरी सञ्चालनमा आएको हो।
सडक खुलेपछि हिजो शनिबार बेलुकादेखि रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ अघि बढेका छन्। यसैबीच, हेटौँडा–कुलेखानी–फाखेल मार्ग हुँदै काठमाडौं आवतजावत गर्न इन्द्रसरोवर गाउँपालिका–२ र ३ को क्षेत्रको सडक बिग्रिएको हुँदा प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौं यात्रा गर्न त्रिभुवन राजपथ वा कान्ति लोकपथ प्रयोग गर्न आग्रह गर्नुभएको छ।