Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – तीन दिनको अविरल वर्षाले देशका धेरै ठाउँका सडक क्षतविक्षत भए, तर सधैँ चर्चामा रहने नारायणगढ-मुग्लिन सडकले भने यसपटक ठूलो विपत्ति झेल्नु परेन ।

वर्षाको पूर्व चेतावनी सँगै गत शुक्रबार साँझदेखि आइतबार बिहानसम्म स्थानीय प्रशासनले यो सडकखण्डमा आवतजावत बन्द गर्‍यो । विगतमा एकै पटक पहिराले दुई वटा बस त्रिशूलीमा खसालेको घटनाबाट पाठ सिकेर प्रशासनले समयमै सावधानी अपनायो ।

तीन दिनसम्मको वर्षाले नौ किलोमा सडक भासिएको थियो भने केराबारी, टोपीखोला, घुमाउने र सिमलतालमा माथिबाट खसेको पहिरो समयमै पन्छाएर आइतबारदेखि सडक नियमित सञ्चालनमा आयो । सडक बन्द गरिएको समयमा अत्यावश्यक सवारीसाधन आधा घण्टाभन्दा बढी रोकिनु परेको थिएन ।

राजधानी काठमाडौँ आवतजावत बन्द भए पनि यो सडक खण्ड आइतबार बिहानबाटै नियमित सञ्चालनमा छ । सोमबार यो सडक खण्ड यात्रा गर्दा सवारीसाधनहरु बिना अवरोध सरर हुइँकिरहेका देखिन्थे ।

दिउँसो ३ बजेर ५ मिनेट जाँदा नारायणगढ-मुग्लिन सडक खण्डको गाईघाटमा भेटिएका बा प्र.०३–००१च ०३४२ नम्बरका बोलेरो चालक नवीन गुरुङ मुग्लिन कटेपछि आनन्दको श्वास फेरेको बताउँदै थिए । काठमाडौंबाट आज बिहान सबेरै हिँडेका गुरुङले काठमाडौँको सितापाइलाबाट रामकोट हुँदै धार्के निस्केर आएको सुनाए । उनले भने, ‘यो सडक छिरेपछि खासै दुःख छैन ।’

सोही सडक हुँदै नारायणगढतर्फ आउँदै गरेका बा.प्र.०३-२६ च ४१६१ नम्बरको बोलेरो चालक आशिष गुरुङ काठमाडौँबाट आउँदा पृथ्वी राजमार्गले निकै दुःख दिएको गुनासो गरे। बिगत समयमा नारायणगढ-मुग्लिन सडकखण्डले दुःख दिने गरेको भन्दै अहिले भने निकै सहज भएको बताए ।

यो सडक पूर्ण रुपमा सञ्चालनमा आएपनि काठमाडौँ प्रवेश गर्ने सडकमा अझै समस्या हुँदा यहाँ सवारीको चाप निकै कम देखिन्छ । पोखरा, बेसीशहर, गोरखा, बाग्लुङ लगायतका ठाउँबाट आएका सवारीसाधन धेरै भए पनि काठमाडौँबाट आएका सवारीसाधन निकै कम छन् ।

तपाईको प्रतिक्रिया