Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

अमेरिका प्रायः सबैको ‘ड्रिम’ गन्तव्य हो । लाखौं नेपालीको अमेरिका जाने सपना असरल्ल छ । त्यसमा पनि खास गरेर नयाँ पुस्ताको अमेरिका मोह अति उच्च छ । त्यहाँ गएपछि काम र दाम दुवै हुन्छ । नाम पनि हुन्छ ! जीवन सुरक्षित हुन्छ ! यहिबीच अमेरिकाको भर्जिनिया बस्दै आएका साहित्यकार मणि भट्टराई लेख्छन् :-

एकजना गुरु दासले अमेरिकामा त्यस्तो केही रहेनछ, त्यहाँ पनि उत्तिकै दुःख र संघर्ष रहेछ, त्यहाँ गएर पनि मानिसहरू छाप्रा जस्ता घरमा बसेका रहेछन्- नेपालीहरू अमेरिका पुगेर पनि खुसी रहेनछन्, उत्तिकै स्ट्रेसमा रहेछन् के भनेका थिए संसारको सबैभन्दा शक्तिशाली, सबैभन्दा सभ्य, अवसरै अवसरले भरिएको सपनाको मुलुकमा आएर सर्वगुण सम्पन्न भएका सभ्य नेपालीहरूले असभ्य भएर गाली गर्न थालिगए ।

हाम्रो बेइज्जत गर्ने ? हामीलाई अपमान गर्ने ? त्यो यस्तो र त्यो त्यस्तो ? त्यसलाई के थाहा अमेरिका ? ऊनले आध्यात्मिक पक्षबाट भन्न खोजेका थिए होला । ऊनले युवाहरू तीव्र रूपमा विदेश पलायन भइरहेको मुलुकमा केही आशा र सम्भावना यहीँ पनि छ, विदेशमा मात्र सबै ठिक छ भन्ने सही होइन भन्न खोजेका थिए होला । ऊनी निश्चय नै आफ्नो मुलुकको पक्षमा बोलिरहेका थिए होला । तर अमेरिकन नेपालीहरूबाट गाली खान थालिगए । गुरुदासले देखेको त्यो पाटो नै अमेरिकामा हुँदै नभएको जस्तो गर्न थालिगए । हामी नेपालीहरूलाई यो कस्तो इज्जत जोगाउन परेको हो हमेसा ? होलान्, केही मान्छेहरू मालामाल गरिरहेका होलान् । अमेरिकामा अपूर्व जिन्दगी जिइरहेका होलान्, तर गुरु दासको भनाइ पनि त गलत होइन ।

उनीहरूलाई राम्रो ठाउँमा छु भन्ने हुनेछ ।उनीहरूलाई अमेरिकामा विभेद हुँदैन पनि भन्नु छ र छाप्रो भनेकोमा विरोध पनि गर्नु छ । छाप्रो भनेकोमा मन परेको पनि छैन । देश बनेन भन्नेहरू पनि यिनै हुन् । आफ्ना दाजुभाइ, दिदीबहिनी सबैलाई ग्रिनकार्ड फाइल गरिदिने, यहाँ बसेर सबैलाई डिभी भर भन्ने, नेपालमा केही छैन, को खेती गर्ने अनि यहाँ बसेर देश बनाउँछु भन्ने पनि यिनै हुन् । सबै युवाहरू देशमा सकिएपछि नेताहरूलाई गाली गरेर मात्र हुन्छ ? आफ्नै एनआरएनको चुनावमा कुर्सी हानाहान गर्ने, धाँधली गर्ने – अरूलाई सभ्यता पढाउने ! यसरी हेर्दा त झाँक्रीको गाली पनि सही लाग्दो रहेछ !

टेस्ला, मर्सिटिज कारहरू किन्नु र रोलेक्स घडी पहिरनु मात्र सुख होइन । त्यो मात्र विजय होइन । आज हो जस्तो लागे पनि त्यो भोलि जरूर होइन रहेछ लाग्नेछ । हेर कति कमजोर छन् तिम्रा सम्बन्धहरू ? हेर कति क्षणिक छन् तिम्रा हिजो घण्टा हानेका पैसाले आज करोना वियर र चिकेन लेगमा रमाएका खुसीहरू !! कति फिक्का छन् तिमीले पार्टीमा हाँसेका हाँसोहरू ? तिमीले साथी-दाइभाइ भनेर मिलाएका हातहरूमा कति छ आत्मीयता ?

मन परेन मलाई – गाली नै गरेको चाहिँ मन परेन । सभ्य मुलुकमा छु भन्नेले असभ्य भएर गाली गरेको मन परेन । सकिन्छ, सयौँ सकारात्मक कुरा लेख्न सकिन्छ- अमेरिकाको बारेमा । सयौँ सकारात्मक सन्देश बाँड्न सकिन्छ । तर यहाँको दुःख छोपेर होइन । यहाँको एक्लोपन लुकाएर होइन । वास्तविकता स्विकार्नै पर्छ । तरक्की गरेका छन् कयौँ नेपालीले । सबैलाई गर्व हुने काम गरेका छन् । यहाँ आएर पनि नेपालीको पहिचान राखेका छन् । तर यता न उताको जीवन बाँचिरहेका, अमेरिका आएर गल्ती गरेँ कि सही गरेँ भनेर वर्षौ वर्ष अलमलिइरहेका प्रथम पुस्ताका नेपालीहरू पनि हजारौँ छन् । यो बस्तुता हो । यसलाई स्विकार्दा हाम्रो इज्जत जाँदैन । स्विकार्नु चाहिँ आफ्नो इज्जत गर्नु हो । आफूलाई इमानदार व्यक्त गर्नसक्ने आँट छैन भने दुनियाँलाई ढाँटेर विश्व विजेता भएँ भनेर पो के गर्नु ? मेरो विचारमा यस्तै चेत नै आध्यात्मिक चिन्तन हो । हाम्रो खोक्रोपन यहीँ कुराको अभावमा तड्पिरहेको छ ।

विकसित मुलुकका संघर्ष र दुःखहरू नसुनाई यताका मोह मात्र बाँडेर नेपालमा रहेका युवा पुस्तालाई उचालेर देश उजाड बनाउने काम कसैले नगरौं । यहाँका राम्रा नराम्रा सबैकुरा सेयर गर्न ज़रूरी छ । ता कि उनीहरूलाई उचित निर्णय लिन सजिलो होस् ।

  • उनी थप लेख्छन् :-

अमेरिकामा त्यस्तो केही छैन । देखावटी मात्र हो । सबै चाउरिएको मन लिएर हिँडेका छन् । रिलेसनसिपदेखि लिएर आर्थिक हिसाबमै पनि त्यस्तो केही छैन यहाँको घन्टे जिन्दगी । एकाधको बाहेक मान्छेहरू डिप्रेसन छन् । नेपाली नेपाली बिच नेपालको जति पनि विश्वास यहाँ कसैलाई छैन । सबै देखावटी छ । वर्ष दिनमा एक हप्ता छुट्टी मिलाएर घुम्न या चाडबाडमा मात्र छुट्टी मिलाउन पनि मान्छेलाई हम्मेहम्मे पर्छ ।

तीस वर्षसम्मको लागि बैंकको ऋणमा किनेका सलाईका बट्टा जस्ता सिंगल हाउस नामका छाप्रा हुन् या मौरी पाल्ने काठका बाकस जस्ता कोटेरा जस्ता टाउन हाउस हुन्, त्यसैलाई उकास्दा उकास्दै भासिँदै गएका घण्टा हान्दाहान्दा निन्द्रा नपुगेर चिप्रापरेका आँखा लिएर हिँडेका मानिसहरू देखेर आँखा भरिएर आउँछन् । सपना खोज्न हिँडेका बिचराहरू सपनामै छन् जस्तो लाग्छ । छोराछोरीको भविष्यको लागि हिँडेका बिचराहरूको आफ्नै भविष्य कहाँ छ कहाँ ! न त छोराछोरीले नै सुन्छन् उनीहरूलाई !! नेपालबाट डलरे भन्छन् हातमा डलर एकछिन अडिन पाउँदैन । बाहिर गएर एकदिन खाँदा फोटा खिचेर हाल्नुपर्छ । एकदिन घुम्न जाँदा त्यसै गर्नुपर्छ । उभिएर काम गर्दा गर्दा कसैका मेरुदण्ड खिइएका छन् त कसैका कुर्कुच्चा रिप्लेस गर्नुपर्ने भएका छन् । कति लेख्नु ? के के लेख्नु ?

अर्को वर्ग छन् – कलेज सुल्क, अपार्टमेन्टको भाडा, खानबस्न, काम गर्ने कागज नभएको कारण सस्तो पैसामा काम, काममा समय, पढाइमा समय, थोत्रो गाडी, उता आफन्तहरूको आकांक्षा – अनि सहयोग गरेन भनेर साथी भाइलगायत प्राय: आफन्त सबैसँगको सम्बन्धहरू धमिरा लागेको ढोड जस्तो !

डलरले अनुहारको कलर यसरी रातोपिरो हिरोबाट नीलोतुथो जस्तै बनाउँदै लगिरहेको छ । अमेरिकी जीवनको बारेमा नराम्रो सुन्न मन हुनेहरूका लागि समर्पित । र यो बनावटी होइन, यसमा झुटो केही छैन । यो एउटा हेर्ने तरिका हो । यसैलाई पजिटिव बनाएर आकर्षक लेख्न पनि सकिन्छ । जीवन यस्तै जिनिस रहेछ ! अपवाद बाहेक कसरी हेरिन्छ त्यसरी नै देखिन्छ । कहिलेकाहीँ मात्र हो जसरी हेरे पनि उस्तै एकनासको देखिने !

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया