समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुई ठूला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले देश समस्यामा परेका बेला ठूला दलकै सरकार बन्नु स्वाभाविक भएको र स्थिर सरकारको आवश्यकता रहेको बताइन्।
उनका अनुसार अहिलेको सरकारको उद्देश्य संविधान संशोधन हो तर यसको मूलभूत सिद्धान्त परिवर्तन नहुने दाबी गरिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेकाले धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्, ‘बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभाको होला ।’
उनले कांग्रेस पार्टीमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यसको लाइनमा नभएको बताइन् । परराष्ट्रमन्त्री बनेको छोटो समयमा नेपालप्रति सबै देश सकारात्मक रहेको र विगतका कमजोरी सुधार गर्ने प्रयास गर्ने बताएकी छन्।