काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीसँग हवाई रूटबारे छलफल गरेकी छन् । भेटका क्रममा मन्त्री राणाले नेपाल-भारत ‘एअर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीसँग कुरा गरेकी छन् ।
मन्त्री राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुराकानी गरेकी थिइन् । भेटका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको मन्त्रीको सचिवालयद्वारा जारी प्रेसनोटमा उल्लेख छ ।
मन्त्री राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाएकी थिइन् । मन्त्री राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी भएको थियो । मन्त्री राणाले जाजरकोट भूकम्पमा परेका पीडितहरुको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् ।