काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज आफ्नो कुरा राख्ने भन्दै सञ्चारकर्मीलाई बोलाएका छन् । पत्रकार सम्मेलन नै नभने पनि उनले आफ्ना कुरा राख्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा मिडियाकर्मीलाई बोलाएका हुन् ।
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै मंगलबार केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्कासित गरेको थियो । त्यसपछि उनले आफू रविको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए । आज उनले पार्टीले आफूलाई गरेको कारबाहीबारे बोल्ने बताएका छन् ।
समीक्षा प्रतिवेदन सार्वजनिक गर्नुअघि यसका अंश सार्वजनिक गर्नुका साथै पार्टी अनुशासन उल्लंघन गर्दै अभिव्यक्ति दिएकोमा उनी कारबाहीमा परेका हुन् । यद्यपि पार्टीको निर्णयमा उनलाई ३५ दिनभित्र पुनरावलोकनका लागि समय दिइएको छ ।