समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधि सभाको आज र भोलिको बैठक स्थगित गर्ने निर्णय भएको छ। सभामुख निवास बालुवाटारमा आज बिहान प्रमुख दलका प्रमुख सचेतकहरूको बैठक बसेर दुई दिनका लागि बैठक स्थगित गर्ने निर्णय लिएको हो। विनियोजन विधेयकमाथि छलफल आजदेखि सुरु गर्ने कार्यसूची थियो, तर अब २९ गतेदेखि मात्र नियमित छलफल हुनेछ। दलहरूले बजेट पुस्तिका अध्ययन गर्न समय मागेकाले विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बैठक रोकिएको हो।
सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही, मुख्य सचिव डा. वैकुण्ठ अर्याल, र सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको उपस्थिति थियो।