समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि एक पटक संसद विघटनको बचाउ गरेका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित काठमाडौं जिल्लाको सातौं अधिवेशनमा बोल्दै ओलीले पार्टीको अस्तित्व संकटमा परेको देखेर आफूले संसद विघटन गरेको स्पष्ट पारे। ओलीले पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको प्रभावमा ल्याउने प्रयास गरेको देखेर संसद विघटन गर्नु परेको बताए। उनको यो भनाइ विशेषत: तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई लक्षित थियो।
उनका अनुसार, संसद विघटनले गर्दा नै एमाले अहिले अस्तित्वमा रहेको छ। ओलीले आफ्नो नेतृत्वको सरकारले देश र जनताको हितमा धेरै काम गरेको दाबी गर्दै अदालतको निर्णयले विपक्षीलाई प्रधानमन्त्री बनाउन खोजेको आरोप लगाए। राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरू मिलेर एमालेमाथि आक्रमण गरेको र कमजोर बनाउने प्रयास गरेको भए पनि कार्यकर्ताहरूले पार्टीलाई जोगाएको उनले बताए।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा काठमाडौं जिल्ला एमालेको किल्ला बन्ने दाबी गरे। उनले जिल्ला अधिवेशनमा नेतृत्व चयनको नाममा पार्टी र संगठनलाई विभाजन नगर्न निर्देशन पनि दिए। उनले एमालेबाहेक अन्य कुनै पनि दलसँग देश विकासको स्पष्ट भिजन र नीति नरहेको उल्लेख गर्दै ‘मिसन ८४’ नेपालका लागि राजनीतिक टर्निङ प्वाइन्ट हुने दाबी गरे।