समाचार सुन्नुहोस :
काठमाडौँ – महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने उद्देश्यले गठन गरिएको संयुक्त राष्ट्रसंघीय समितिको महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) मा नेपालकी बन्दना राणा पुनः निर्वाचित भएकी छन्। शुक्रबार अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको मतदानमा राणाले एक सय ४६ मत प्राप्त गरिन् र विजयी भइन्।
अब उनले सन् २०२५ देखि २०२८ सम्मको अवधि का लागि आफ्नो कार्यभार सम्हाल्नेछिन्। नेपालको तर्फबाट उनको पुनः निर्वाचित भएको अवसरमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुको सहयोगप्रति आभार व्यक्त गरे।
तेइस सदस्यीय उक्त समितिले विश्वभरका महिलाले भोग्नुपरेका समस्याहरूको अनुगमन गर्ने, राष्ट्रसंघमा जनाइएका प्रतिबद्धताहरुको कार्यान्वयन सुनिश्चित गर्ने र महिलाविरुद्धका सबै प्रकारका विभेद अन्त्य गर्नेतर्फ काम गर्ने जिम्मेवारी लिन्छ। यो समितिको मुख्यालय जेनेभामा अवस्थित छ।