समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ। महानगरपालिकाको स्वास्थ्य विभागको बुधबार जारी गरिएको एक सूचनामा अनुसार, महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरूलाई अनिवार्य रूपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको हो। बहुसंख्यक अस्पतालहरूले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन गरेका छैनन्। अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको महानगरपालिकाले जनाएको छ ।
‘अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि र औषधिजन्य सामग्रीहरु बिक्री भइरहेको गुनासो प्राप्त भएको छ,’ काठमाडौँ महानगरपालिकाको सूचनामा भनिएको छ, ‘अस्पतालहरुले अनिवार्य रुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ ।’
महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरुलाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि सूचनामा स्मरण गराएको छ ।