समाचार सुन्नुहोस :
काठमाडौँ – सहकारीको रकम दुरुपयोग गर्नेहरूलाई संरक्षण गरेको आरोप लगाउँदै पोखराका सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झण्डा देखाएका छन्। यस घटनापछि प्रहरीले पीडितहरूमाथि दमन गर्दा दुई जना घाइते भएका छन्।
बुधबार बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा, सूर्यदर्शन सहकारीका पीडितहरूले प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएका थिए। उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए। यस क्रममा, प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ भने दुई जना प्रहरीको कुटपिटबाट घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा आएका थिए। उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी भएर पार्टी प्रशिक्षण कार्यक्रममा जाँदै गर्दा सहकारी पीडितहरूले कालो झण्डा र ब्यानर प्रदर्शन गरेका थिए।