समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पछिल्लो अभिव्यक्तिलाई आफूलाई नै गिज्याउने किसिमको रहेको टिप्पणी गरेका छन्। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति मेयर साहले दिएको अशिष्ट र निम्छरो अभिव्यक्तिले उनको पदीय मर्यादा घटाएको बर्तौलाको भनाइ छ।
संघीय संसद भवन परिसरमा मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बर्तौलाले मेयर साहले अध्यक्ष ओलीप्रति प्रयोग गरेको गालीगलौजपूर्ण भाषा तत्काल सच्याउनुपर्ने बताए। उनले मेयर साहले इतिहासलाई अवमूल्यन गर्ने र नेतृत्वप्रति अशोभनीय शब्दावली प्रयोग गर्ने शैलीले मुलुकको कानूनी शासनमाथि चुनौति खडा गरेको आरोप लगाए।
प्रमुख सचेतक बर्तौलाले कुनै पनि व्यक्तिले राज्यका कानूनी प्रबन्धहरुलाई चुनौति दिन नहुने स्पष्ट पारे।