समाचार सुन्नुहोस :
काठमाडौँ – सहकारी ठगी सम्बन्धमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन कार्यदल असफल भएको छ । शुक्रवार बिहान कानून मन्त्रालय सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो । समितिको कार्यादेशमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्नु पर्ने कांग्रेसको अडानपछि सहमति जुट्न नसकेको हो ।
कार्यदलमा सहमति जुट्न नसकेपछि सरकारले विपक्षी दलको विरोधका बाबजुद संसदबाट सरकारका नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ । आज एकैदिनमा छलफल टुंगाएर नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको सत्तापक्षका एक सांसदले जानकारी दिए । कार्यदल र विपक्षी दलको बैठक कुरेर बिहान ११ बजेका लागि बोलाइएको बैठक १२ बजेसम्म शुरू हुन सकेको छैन । संसद् भवनमै विपक्षी दलको बैठक पनि बसेको छ ।
सभामुख देवराज घिमिरेको कार्यकक्षमा सत्तापक्षका सांसद र सरकारका मन्त्रीहरूले छलफल गरिरहेका छन् । विपक्षी दलको बैठकका कारण बैठक तत्काल शुरु हुने अवस्था नरहेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेका कारण सरकारले आज जसरी पनि नीति तथा कार्यक्रम पारित गर्ने रणनीति बनाएको हो । विपक्षी दलको अवरोधका बाबजुद गत मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम टेबल गरेका थिए ।