समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत लिने क्रममा संसदमा गरेको अवरोधको कांग्रेसले चर्कोमूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव पेश गर्न सभामुखले समय दिएपछि नेपाली कांग्रेसका सांसदहरूले बेल घेराउ र नाराबाजी गरेपछि प्रधानमन्त्री मर्यादा पालकको घेरामा रोष्टममा पुगेका थिए । प्रधानमन्त्रीले प्रस्ताव पेश गरेपछि एमाले नेता विष्णु पौडेलले प्रस्तावको पक्षमा धारणा राखेका थिए ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले आज बहुत गलत गर्नुभयो। नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक-पटक साथ दियो। र यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुलाई संवाद र सहमतिको बाटोमा ल्याउन मिहिनेत गरेको छ, त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरूले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो यसप्रति गहिरो दु:ख व्यक्त गर्दछु।’ प्रचण्डले भने, तपाईंहरुलाई यसको मूल्य चर्को पर्नेछ । आज तपाईंहरुको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा राम्रैसँग स्थापित हुनेछ।’