समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि जारी सातौँ बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजना माथि आज टोली प्रमुखले आआफ्नो समूहमा भएको छलफलको निष्कर्ष सुनाउने छन् । बैठकमा प्रस्तुत अवधारणा माथि छलफल गरी निचोडमा पुर्याउनका लागि एमालेले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी सामूहिक छलफल गरिरहेको छ ।
बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक विषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए । जसमा ९ समुहमा छलफल गरिएको हो ।
सोही समूहले आज प्रतिवेदनको निचोड सुनाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि बैठक आज सकिने एमालेले जनाएको छ ।