काठमाडौं – इजरायल र प्यालेस्टाइनी अतिवादी समुह हमासका बिचमा जारी युद्ध २३ औँ दिनमा पुगेको छ । यो अवधिमा भएका आक्रमणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।
गत अक्टोबर ७ मा हमासले अप्रत्याशित र अकल्पनीय रुपमा इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकास तीनै स्थानबाट आक्रमण गरिरहेको छ । संयुक्त राष्ट्र संघका बहुमत राष्ट्रले हमास–इजरायल युद्ध रोक्नका लागि आव्हान गरेका थिए भने इजरालयसहित १४ देशले राष्ट्र संघको सो आह्वान अस्वीकार गरेका थिए ।
उनीहरूले युद्ध जारी राख्ने पक्षमा आफ्नो मत प्रकट गरेका थिए । हिजो मात्रै युद्ध रोक्नका लागि राष्ट्रसंघले गरेको आह्वानलाई अस्वीकार गर्दै गाजामा इजरायलको युद्ध ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गरेको टिप्पणीलाई प्रतिध्वनित गर्दै सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले आफ्नो कार्यहरू विस्तार गरिरहेको बताए । इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भनेका छन्, ‘हामी गाजामा हमास विरुद्धको हाम्रो युद्धको अर्को चरणमा (जल, जमिन र आकास) बाट अघि सर्दैछौँ।’