काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा संलग्न भएको आरोपमा एक महिलालाई पक्राउ गरिएको युक्रेनको सुरक्षा निकायले जनाएको छ ।
ती महिलाले गत जुन महिनामा बाढी प्रभावित क्षेत्र माइकोलाइभको भ्रमण गर्नुअघि जेलेन्स्कीको यात्रा कार्यक्रम पत्ता लगाउने प्रयास गरेको उक्त सेवाले जनाएको छ । युक्रेनले रुसलाई समर्थन गर्ने आफ्ना नागरिकलाई मस्कोको सेनालाई सहयोग गर्न सूचना प्रवाह गरेको आरोप लगाउँदै आएको छ । जेलेन्स्कीले एसबीयूका प्रमुखले आफूलाई धोकेबाज विरुद्धको लडाइँबारे खबर गरेको भन्दै ती महिलाको गिरफ्तारीबारे आफूलाई जानकारी दिइएको पुष्टि गरेका छन् ।
रुसले यस गिरफ्तारीबारे कुनै टिप्पणी गरेको छैन । युक्रेनको सुरक्षा सेवासम्बन्धी निकाय एसबीयूले एक विज्ञप्ति जारी गर्दै ती महिलालाई रुसीहरूलाई गुप्तचरी सूचना दिन खोज्दा रङ्गेहात पक्राउ गरिएको जनाएको छ । ती महिलाले दक्षिणी माइकोलाइभ क्षेत्रमा जेलेन्स्कीको भ्रमणअघि नै त्यहाँको यात्रा योजना पत्ता लगाउन गुप्तचर सूचना सङ्कलन गर्ने प्रयास गरेको उनीहरूको आरोप छ । उक्त निकायले रुसले माइकोलाइभ क्षेत्रमा ठूलो हवाई आक्रमणको योजना बनाइरहेको र सन्दिग्ध महिलाले उनीहरूलाई युद्ध गतिविधिबारे विद्युतीय प्रणाली तथा गोला बारुदसहितको गोदामका बारेमा जानकारी दिन खोजेको आरोप लगाइएको छ ।
को हुन् आरोपित महिला ?
एसबीयूका अनुसार सन्दिग्ध महिला ओचाकिएभ नामक सानो सहरकी बासिन्दा हुन् जहाँ जेलेन्स्कीले गत जुलाईमा भ्रमण गरेका थिए। उनी त्यहाँको एक सैन्य अखडामा रहेको पसलमा काम गर्थिन् ।
भ्रमणका क्रममा एसबीयूले सन्दिग्धलाई पक्राउ नगरी युक्रेनी राष्ट्रपतिमाथि हुनसक्ने आक्रमण रोक्ने उपाय अपनाएको बुझिएको छ । एसबीयूका अनुसार उसका केही प्रतिनिधिहरूले भ्रमणपछि ती महिलाको गतिविधि तथा रुसी पक्षबाट प्राप्त गरेका ‘जिम्मेवारीहरू’बारे थप जानकारी लिन उनलाई पछ्याए ।
विज्ञप्तिमा सन्दिग्धले उक्त क्षेत्रमा गाडी चलाएको र युक्रेनी सैन्य सुविधाको फोटो तथा भिडिओ खिचेको जनाइएको छ । उनीमाथि हतियार र सैनिकको गतिविधिबारे अनधिकृत रूपमा सूचना सम्प्रेषण गरेको आरोप लाग्ने अनुमान गरिएको छ । दोषी ठहर भएको खण्डमा उनलाई १२ वर्षसम्म जेल सजाय हुन सक्छ । युक्रेनी सुरक्षा बलले रुसी हवाई आक्रमणको लक्ष्य पत्ता लगाउन मद्दत गर्ने कथित रुसी एजेन्टहरूलाई धेरै पटक गिरफ्तार गरेको छ । बीबीसी