काठमाडौँ – आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै १२ वर्षपछि नेदरल्यान्ड्स विश्वकपमा छनौट भएको छ । नेदरल्यान्ड्स २०११ पछि पहिलो पटक विश्वकपमा पुगेको हो। समान ६ अंक भएपनि नेदरल्यान्ड्सले रनरेटको कारण जिम्बावे र स्कटल्यान्डलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो । जितका लागि २ सय ७८ रनको लक्ष्य पछयाएको नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा बास डि लिडेले ९२ बलमा ७ चौका र ५ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेले । टोलीलाई जितको लागि दुई रन चाहिँदा उनी रन आउट भएका थिए । उनको यो करिअरको पहिलो शतक हो ।
त्यस्तै सकिब जुलफिकर ३२ बलमा ३ चौका र १ छक्कासहित३३ रनमा नट आउट रहे । छैटौं विकेटका लागि लिडे र जुलफिकरले ६९ बलमा १ सय १३ रनको सानदार शतकीय साझेदारीका साथ विश्वकपमा स्थान पक्का गराए । नेदरल्यान्ड्सलाई ओपनर विक्रमजित सिंह र म्याक्स ओडाउडले पहिलो विकेटका लागि १२।४ ओभरमा ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर माइकल लिस्कले ओपनर ओडआउडलाई २० रनमा एलबीडब्लू आउट गर्दै साझेदारी तोडे । उनले लिस्कले विक्रमजित सिंहलाई ४० रनमा एलबीडब्लू आउट गर्दै खेलमा फर्काउन खोजेका थिए । विक्रमजित सिंह ४९ बलमा ६ चौका प्रहार गरे ।
वेस्ली ब्यारेसी ११ र तेजा निडामानिरुले १० रन बनाए । एक समय नेदरल्यान्ड्स २३।३ ओभरमा १०८(४ को अवस्थामा थियो । पाँचौं विकेटका लागि कप्तान स्कट एडवार्ड्स र बास डि लिडेले ४५ बलमा ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।एडवार्ड्स स्पिनर मार्क वाटको बलमा एलबीडब्लू आउट भए । उनको हातमा लागेपनि स्कटल्यान्डले रिभ्यु लिदै पेभेलिएन फर्काएको थियो । स्कटले २३ बलमा ३ चौकासहित २५ रन बनाए । त्यसअघि जिम्बावेको क्विन्स स्पोर्ट्स क्लब बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो । उक्त योगफल जितको लागि पर्याप्त हुन सकेन ।