काठमाडौं – ग्रिसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । दुर्घटना पछि ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ ।
मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो । उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए । डुङ्गामा महिला र बालबालिका पनि सवार रहेको उनले बताए । राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नु परेको तटरक्षकले जनाएको छ ।
डुबेकाहरुको खोजी कार्य बिहीबारबाट पुनः सुरु गरिने छ । सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन । बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्ने बताएका छन् । ग्रिसका अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् ।