समाचार सुन्नुहोस् :
काठमाडौँ – नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न बंगलादेश तयार भएको छ । दुई देशबीचका सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी’ बैठकमा बंगलादेश नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न सहमत भएको हो ।
ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले भारतसहित त्रिपक्षीय बैठक गर्नेबारे पनि दुई देश सहमत भएका छन् । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने बताइएको छ ।
दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । त्यसका लागि भारतलाई मनाउनुपर्ने भएकाले त्रिपक्षीय बैठक बस्ने तयारी छ ।४० मेगावाट बिजुली परीक्षणस्वरूप लैजाने सहमति गत वर्ष भदौमै नेपाल र बंगलादेशबीच सहमति भएको थियो ।
२०७५ कै साउन महिनामा नेपाल र बंगलादेशबीच विद्युत् विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारी (एमओयू) भएको थियो ।