काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांँग्रेसका नेता आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई बचाउन लागि परेको र शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलियाहरुलाई भेटेको आरोप लागेका शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले आइतबार बिहान पक्राउ पुर्जी जारी गरेको हो ।पक्राउ पुर्जी जारी भएका शेर्पा भने शुक्रवार देखि नै फरार भएका छन् ।
यति बेला प्रहरीले उनलाई खोजी गरिरहेको छ । तर शेर्पा भने आफ्नो मोबाइल फोन समेत स्विच अफ गरेर गायब भएका छन् ।उनको बारेमा अहिले केहि पनि जानकारी फेला परेको छैन ।नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि रहेका शेर्पाले शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलियाद्वय केशव दुलाल र सानु भण्डारीलाई हिरासतमा नै भेटेर वयानमा पूर्व गृहमन्त्री खाँणलाई नपोल्न आग्रह गरेका थिए ।
यस्तै उनले गृह मन्त्रालयमा नै गएर खाँणलाई बुझाएको रकम फिर्ता गरिदिने भनेर गरेको कागज पनि प्रहरीले फेला पारेको छ । त्यस्तै पक्राउ पुर्जी भन्दा अगाडि उनी कहाँ थिए भन्ने बारेमा पनि केहि थाहा हुन सकेको छैन ।