काठमाडौं – नेपाल र युएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेका छन् । सेमिफाइनल खेलपछि नेपाल र युएईले फाइनल खेल्ने भएका हुन् ।
टियु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले पुरा हुन नसकेपछि रुद्ध भएको थियो । खेल रद्द भएपछि नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको हुनाले फाइनलको यात्रा तय गरेको हो ।
त्यस्तै अर्को सेमिफाइनल खेलमा युएईले ओमानलाई डक वर्थ लुइस नियमका आधारमा २ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । युएईले दिएको २३७ रनको लक्ष्य पछाएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाएको थियो । त्यसपछि वर्षाले खेल हुन नसकेपछि खेलको निर्णय डक वर्थ लुइस नियम अनुसार लिइएको थियो ।
अब फाइनल खेल आगामी सोमबार टियु क्रिकेट मैदानमा हुने छ । एसीसी प्रिमियर कप जित्ने टिमले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा समूहमा रहेका भारत र पाकिस्तानसँग खेल्ने छ ।