काठमाडौं – ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । एक महिनाभन्दा लामो समयदेखि फरार रहेको भनिएका उनलाई पञ्जाब प्रहरीले पक्राउ गरेको हो ।
पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट समेत यसको पुष्टि गर्दै उनलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ । प्रहरीले नागरिकहरूसँग शान्ति र सद्भाव कायम राख्न अनुरोध गरेको छ ।
सिंह सिखहरूका लागि स्वायत्त राज्यको माग गर्दै आएका थिए । बीबीसीकाअनुसार उनी १८ मार्चदेखि फरार रहेका थिए । सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै काठमाडौँस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् खोजी गरिदिन आफूहरूलाई पत्राचार गरेको थियो ।
२९ वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन् । सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ । तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए । गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किए ।