समाचार सुन्नुहोस् :
काठमाडौँ – आजदेखि काठमाडौंमा एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियाविरुद्ध खेल्दै छ । यस्तै, अर्को खेलमा सिंगापुर र हङकङ प्रतिस्पर्धा गर्दैछन् । नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदान तथा हङकङ र सिंगापुरले मूलपानी मैदानमा हुनेछ । मूलपानीमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल हुन लागेको हो ।
दुवै खेल बिहान साढे ९ बजे सुरु हुने तालिका छ । नेपाल र मलेसिया समूह ‘ए’ तथा सिंगापुर र हङकङ समूहमा ‘बी’ मा रहेका छन् । मलेसियाविरुद्ध नेपाल सहज जितको खोजीमा छ । मलेसिया भने घरेलु टोली नेपाललाई हराउँदै इतिहास रच्ने दाउमा छ । सन् २०१२ यता मलेसियासँग नेपालले पाँच वानडे म्याच खेलेको छ । जसमा नेपाल अपराजित छ । पछिल्लोपटक यी दुई टोलीले २०१८ मा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो ।
सन् २०१४ मा भएको आइसिसी क्रिकेट लिग डिभिजन–३ को दुई खेलमा मलेसियाविरुद्ध नेपाल ३६ रन र ५ विकेटले विजयी भयो । २०१२ मा एसिसी ट्रफी एलिटको सेमिफाइनलमा नेपालले मलेसियालाई २१ रनले हरायो । सोही वर्षको सेप्टेम्बरमा भएको क्रिकेट लिग डिभिजन–४ मा नेपालले मलेसियाविरुद्ध १० विकेटको कीर्तिमानी जित निकालेको थियो । नेपाल यसपालि प्रिमियर कपमा पनि मलेसियाविरुद्ध फराकिलो जित निकाल्ने योजनामा छ ।
प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान, कतार र साउदी अरेबिया तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । उपाधि जित्ने टोलीले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।