काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सनका लागि उमेर हद ६२ बाट बढाएर ६४ वर्ष पुर्याइएको प्रस्तावमा हस्ताक्षर गरेसँग विरोध प्रदर्शन चर्किएको छ ।
फ्रान्सको संवैधानिक परिषदले यस विषयमा जनमत सर्वेक्षण गर्न प्रतिपक्षको मागलाई अस्वीकार गर्दै यो परिवर्तनलाई अनुमोदन गरेको छ । परिषद्को यो निर्णयपछि फ्रान्समा विरोध प्रदर्शन चर्किएको छ । आन्दोलनकारीले धेरै ठाउँमा आगजनी गरेका बीबीसीले खबर लेखेको छ ।
प्रदर्शनको क्रममा हिंसा भड्काएको आरोपमा ११२ जना पक्राउ परेका छन् । फ्रान्सका ट्रेड युनियनहरूले सरकारविरोधी प्रदर्शन थप चर्काउन आह्वान गरेका छन् । ट्रेड युनियनहरूले मे १ मा देशव्यापी शक्तिशाली प्रदर्शन गर्ने उद्घोष पनि गरेका छन् ।
राष्ट्रपति इमानुएल म्याक्रोंले पेन्सन प्रणालीलाई ध्वस्त हुनबाट रोक्नको लागि सुधार गर्नुपरेको तर्क गरेका छन् । गत मार्चमा सरकारले एक विशेष संवैधानिक अधिकार प्रयोग गरी यो परिवर्तन गरेको थियो, जसका लागि मतदान गरिएन । शनिबार बिहान म्याक्रोंले उक्त प्रस्तावमा हस्ताक्षर गरी कानुनमा परिणत गरेका हुन् ।