समाचार सुन्नुहोस् :
काठमाडौँ – बुटवलमा सामुदायिक कुकुरहरूको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरूको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि युवासँगको सहकार्यमा ३ दिने अभियान शुरु भएको हो ।
अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरूको बन्ध्याकरणले कुकुरको संख्या वृद्धि रोकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिने बताए ।
बुटवल उपमहानगरपालिकाका पशुपक्षी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडेले बुटवलभित्र कुकुरको संख्या बढ्दै गएकाले संख्या वृद्धि हुन नदिन बन्ध्याकरण गरिएको बताए । ३ दिनसम्म चल्ने बन्ध्याकरण कार्यक्रममा बुटवलका सबै वडाहरूबाट कुकुर संकलन गरिने छ।