टोकियो – जापानको एक विश्वविद्यालयको दीक्षान्त समारोहमा एकजना विद्यार्थी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको जस्तै हुलियामा सहभागी भएका छन् ।
अमिकी नाम गरेका ती विद्यार्थी जेलेन्स्कीले लगाउने गरेको हल्का हरियो रंगको टिसर्ट र मिल्दो रंगको सुरुवाल लगाएका थिए । जेलेन्स्कीको जस्तो दारी पाल्न उनलाई तीन वर्ष लागेको जापानी मिडिया योमिउरीले जनाएको छ । ‘मैले जेलेन्स्कीजस्तो देखिन डिसेम्बरदेखि दारी पाल्न शुरू गरेको हुँ। साथीहरूले पनि मलाई जेलेन्स्कीजस्तै देखिएको प्रतिक्रिया दिएका थिए,’ उनले भने ।
अमिकीले युक्रेनको साथमा रहेको सन्देश दिन यस्तो लुगा लगाएको बताएका छन् । उनले गत डिसेम्बरमा अमेरिकी संसद्मा पुगेर जेलेन्स्कीले गरेको भाषणको केही अंश लेखिएको प्लेकार्डसमेत बोकेका थिए । क्योतो सिटी युनिभर्सिटी अफ आर्टस्मा दीक्षान्त समारोहमा विद्यार्थीले आफूलाई मन परेको लुगा लगाएर जान पाउँछन् । त्यसैले विद्यार्थीहरू फरक कला संस्कृति झल्किने र सन्देश दिने खालको पहिरनमा दीक्षान्तमा सहभागी हुने गरेका छन् ।
कोरोनाका कारण दीक्षान्त कार्यक्रमले निरन्तरता पाउन नसकेपछि तीन वर्षमा पहिलो पटक समारोहको आयोजना गरेको थियो । स्नातकको दीक्षान्त समारोहमा विद्यार्थीहरू खरायो, पोकेमन, वली, जिसस क्राइस्ट जस्ता पहिरनमा उपस्थित भएका थिए ।