काठमाडौं – काठमाडौं महानगरपालिकाले खुलामञ्चमा प्रवेश नदिएपछि मिटरब्याज पीडितहरु रातभर सडकपेटीमै बसेका छन् । सरकारलाई आफ्ना माग सुनाउन ११ दिन पैदलयात्रा गरेर काठमाण्डौ आएका मिटरब्याज पीडितहरूले गएराति खुलामञ्च अगाडि रात कटाएका हुन् ।
संघर्ष समितिलाई सहयोग गर्दै आएका संघर्ष दाहालका अनुसार महानगर प्रहरीले ओढ्ने र ओछ्याउने समेत खोसेर लगेको छ । सहयोगीले ल्याइदिएका खानेकुरा समेत प्रहरीले खोसेको छ । उनिहरुले खाना र छानाविना रात बिताएका छन् । मिटर ब्याज पीडितहरु खुलामञ्चमा बस्ने तयारी गरेको थाहा पाएपछि काठमाडौं महानगरपालिकाले सोमबार दिउँसो नै खुलामञ्चको गेटमा ताला लगाएको थियो ।
उनिहरुले मिटरब्याज पीडितले न्याय पाउनको लागि कानुन नै परिवर्तन गर्नुपर्ने भएकाले नयाँ कानुनको माग गरेका छन् । पीडितहरुले प्रधानमन्त्री निवास घेराउ गर्ने लक्ष्य लिएका छन् । तर उनिहरुलाई प्रहरीले टंगालमै रोकेको छ ।