काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सार्न उनका वकिलले माग गरेका छन् । सन्दीपको मुद्दामा सुनुवाइका लागि सोमबार पेशी तोकिएपछि सन्दीपका वकिलले उनको मुद्दा सार्न माग गरेका हुन् ।
सन्दीपलाई जेलमा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलासमा सुनुवाइका लागि पेशी तोकिएको भन्दै सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले उनको मुद्दा सार्न माग गर्दै निवेदन दिएका हुन् । उनका अनुसार थुनामा पठाउने न्यायाधीशकै इजलासमा उक्त मुद्दामा सुनुवाइ गर्न प्राविधिक रूपमै नमिल्ने भन्दै उनले अदालतको ध्यानाकर्षण गराएका थिए ।
गत २१ भदौमा बालिका बलात्कारको आरोपमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो । १८ कात्तिक मा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आदेश दिएको थियो । तर, उच्च अदालतले भने जिल्ला अदालतको उक्त आदेश उल्ट्याइँदै सन्दीपलाई सर्तसहित २० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।
उक्त आदेशपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरेको थियो । त्यसयता सन्दीपले देशभित्रै र युएईमा भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतका त्रिकोणात्मक एकदिवसीय सिरिजहरूमा राम्रो प्रदर्शन गरेका थिए । सन्दीपको समेत महत्त्वपूर्ण योगदानमा नेपाली टोलीले १२ मध्ये ११ खेलमा जित हात पारेर विश्वकप छनोट चरणमा प्रवेश गरेको छ ।