काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दाले माओवादी घटकलाई एक ठाउँमा आउने बाटो खोलिदिएको छ । प्रचण्ड स्वयमले सर्वोच्चमा आफूविरुद्ध परेको मुद्दाले माओवादी घटकहरूलाई एकठाँउमा आउने बाटो खुलेको बताएका हुन् ।
मुद्दाबारे कुनै चिन्ता नभएको उनको भनाई छ । ‘अस्तिको मुद्दाले विस्तृत शान्ति सम्झौता, अध्यक्ष र प्रधानमन्त्री नै केही हुन लागेको हो कि भनेर देशभर ठूलो तरंग पैदा भयो । यो हामीलाई सहयोग गर्ने कुरा नै भइरहेको छ भन्ने हो,’ उनले भने, ‘विभाजित माओवादीलाई एकठाउँमा आऊ, छिटोभन्दा छिटो ऐन अघि बढाऊ भन्ने बुझेँ, तत्काल मन्त्रिपरिषद् बोलाएर संसद्मा दर्ता गराए । अदालतको फैसला पनि शान्ति सम्झौताभन्दा बाहिर गएन । त्यसको पक्षमा नै आयो । हामी चिन्तित हुन पर्दैन तर सतर्क हुनुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले माओवादीहरू पनि केही समय विभिन्न भंगालोमा विभाजित भएपनि अब एकीकृत गर्ने समय आएको बताए । एकताबद्ध भएर अघि बढे दुनियाँको कुनै तागतले हराउन नसक्ने उनको भनाइ थियो । ‘अहिले पनि एकथरी मानिसहरू गणतन्त्र, समावेशी समानुपातिक मान्यता, उत्पीडित वर्ग र समुदायले पाएको अधिकारलाई खोस्न उद्धत छन् । अहिले पनि घेरा हाल्ने र परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेको छ,’ उनले भने, ‘राष्ट्र र जनताप्रति इमानदार भइरहेसम्म इतिहास साक्षी छ दुनियाँको कुनै शक्तिले हामीलाई हराउन सक्दैन, उनीहरू नै हार्नेछन् । जनता नै सफल हुन्छन् । इतिहास जनताले लेख्ने हो ।’
द्वन्द्वकालीन घटनालाई लिएर केही दिनअघि सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश माग गरेको छ । सर्वोच्चमा प्रचण्डविरुद्ध मुद्दा परेपछि माओवादी धारका विभाजित पार्टीहरू एकठाउँमा आएका छन् । उनीहरूले शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र सम्पन्न गर्नसमेत माग गरेका छन् ।