टोकियो – ड्यूटी फ्री स्टोरहरुले आफूले सामान कर तिरेर किन्ने र विदेशी पर्यटकलाई कर बिना सामान बेचेमा आफूले सामान किन्दा तिरेको कर फिर्ता लिने गर्दछन् । स्रोतका अनुसार, यस्ता ड्यूटी फ्री स्टोरहरुले कर रिटर्न प्रणालीको दुरुपयोग गरी गैरकानूनी रूपमा राष्ट्रिय कोषबाट पैसा उठाएको धेरै घटनाहरू छन् ।
हालै मात्र टोकियो क्षेत्रीय कर ब्यूरोले विदेशी आगन्तुकहरूलाई भन्सारमुक्त वस्तुहरू बेचेको बारे झूटो विवरण पेश गरेको आरोपमा १० वटा स्टोरहरुको ड्युटी-फ्री बिक्री इजाजतपत्र खारेज गरेको छ । बिक्री इजाजतपत्र खारेज भएका त्यी १० स्टोर मध्ये टोकियोको मिनाटो वार्डमा रहेको गहना पसलले आफ्नो पसलमा आउँदै नआएका विदेशी आगन्तुकको कागजात पेश गरी करोडौं येनको कर रिर्टनको दाबी गरेको र सोको केहि पैसा पनि लिईसकेको भनिएको छ ।
उपभोग कर कानून अन्तर्गत यसरी कुनै पनि ड्यूटी फ्री स्टोरले कानून उल्लङ्घन गरेमा बिक्री इजाजतपत्र रद्द हुने र लाइसेन्स खारेज गर्ने निर्णय भएको दिनदेखि तीन वर्षसम्म अपरेटरहरूलाई भन्सार रहित बिक्री गर्न प्रतिबन्ध लगाइने गरिन्छ । ***