काठमाडौं – पोखराको फेवाताल बिचमा रहेको ताल वाराही मन्दिरको पुनः निर्माणका लागि क्षमा पूजा गरिएको छ । सोमबार र मंगलबार २ दिनसम्म प्राण प्रतिष्ठा सहित क्षमा पूजा गरिएको हो ।
भूकम्पका कारण मन्दिर ३ इन्च दक्षिणतर्फ ढल्किएको विज्ञहरूले पत्ता लगाएका थिए । उक्त मन्दिर पुनः निर्माणको तयारी गरिएको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । बुधबारदेखि मन्दिरमा स्थापना गरिएको प्रतिमूर्तिमा भक्तजनले पूजा गर्न पाउँछन् । मन्दिरको पुनः निर्माण गर्न कम्तीमा १ करोड ३५ लाख लाग्ने अनुमान छ ।
अहिले पुरातत्त्व विभागबाट २५ लाख रुपैयाँ मात्रै सहयोग गर्ने आश्वासन आएको कुँवरले बताए । बाँकी रकम प्रदेश र स्थानीय सरकार सहित भक्तजनहरूबाट सहयोग संकलन गर्ने र कलात्मक ढंगले मन्दिर निर्माण गर्ने उनको भनाई छ ।