काठमाडौँ – भारतको इन्दौरस्थित बिएम कलेजको फार्मेसी विभागकी प्राचार्य विमुक्त शर्मालाई एक विद्यार्थीले पेट्रोल खन्याएर आगो लगाएका हुन् । सोमबार साँझ भएको घटनामा उनको शरीरको ८० प्रतिशत भाग जलेको छ ।
समाचारहरूमा जनाइएअनुसार, कलेजको काम सकेर घर जान कार चढेलगत्तै सोमबार साँझ उनीमाथि आक्रमण भएको थियो । घटनास्थलमा उपस्थित मानिसहरूले उनलाई तत्काल अस्पताल पुर्याएका थिए । तर शरीरको धेरै भाग जलेकाले अवस्था जतिल छ ।
आफ्नो शिक्षिकामाथि आगो लगाउने विद्यार्थीको नाम आशुतोष श्रीवास्तव हो। यस्तो जघन्य अपराध गरेर फरार उनले पेट्रोल छर्किएर आत्महत्या प्रयास गरेका थिए । स्थानीयको अवरोधका कारण उनको त्यो प्रयास भने सफल हुन सकेन । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् ।उनी उज्जैन नजिकै रहेको नागदाका बासिन्दा हुन् । सातौं सेमेस्टरमा अनुत्तीर्ण उनले सातौं र आठौं सेमेस्टरको परीक्षा दिएका थिए । उक्त परीक्षा जुलाई २०२२ मा उत्तीर्ण गरे पनि कलेजले मार्कसिट रोकेको र त्यसकै प्रतिक्रियामा उनले यस्तो अपराध कर्म रोजेको बताइएको छ । घटनापछि भारतको शिक्षाक्षेत्र आक्रोसित बनेको छ ।
प्रशासनको लापरबाहीले घटना हुन पुगेको आरोप लगाउँदै उनीहरूले यसको निन्दा गरेका छन् ।