काठमाडौँ – स्पेनिस ला लिगामा बिहीबार राति रियाल मड्रिडले भ्यालेन्सियालाई २-० गोलको नतिजामा पराजित गरेको छ। सान्टियागो बेर्नाबेउमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको सुरुआतदेखि आक्रामक बनेको रियालका लागि ५२औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै अग्रता दिलाएका थिए। करिम बेन्जिमाले दिएको पासलाई एसेन्सियोले उत्कृष्ट फिनिस गर्दै गोलको खाता खोलेका थिए।
त्यसको दुई मिनेट नबित्दै बेन्जिमाकै पासमा भिनिसियसले गरेको गोलसँगै रियालको अग्रता दोब्बर भएको थियो।डिफेन्डर गाब्रियल पाउलिस्टाले ७२औं मिनेटमा रातो कार्डको सामना गरेसँगै भ्यालेन्सियाले अन्तिमको करिब २० मिनेट १० जनामा सीमित हुनु परेको थियो। जितसँगै १९ खेलबाट ४५ अंक जोडेको रियालको दोस्रो स्थानमा छ। लिग लिगर बार्सिलोनाभन्दा पाँच अंक पछाडि रहेको रियाल निरन्तर पछ्याइरहेको छ। समान खेलबाट २० अंक मात्र जोड्न सकेको भ्यालेन्सिया अंक तालिकाको १४औं स्थानमा छ।