काठमाडौं – उमेर नपुगेकी बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो ।
किशोरी बलात्कार आरोप लागेका लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश खारेज गर्दै शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता भएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको पुस २८ गतेको संयुक्त इजलासले शर्तसहित लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । उक्त आदेश बेरितको भएकाले खारेज हुनुपर्ने मागदाबी गर्दै सरकारी पक्षले सर्वोच्चमा निवेदन दिएको हो ।
पुनरावलोकन निवेदनमा सन्दीपलाई पक्राउ गरेर थुनामै राख्नुपर्ने मागदाबी गरिएको छ । गत कात्तिक १८ मा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिएका थिए । लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोप छ । उनीविरुद्ध गत कात्तिक १४ गते काठमाडौँ अदालतमा मुद्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । प्रहरीले गत असोज २० गते लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।