काठमाडौं – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने कारागारबाट छुटेका छन् । उनको तर्फबाट जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी रकम दाखिला गरेपछि केन्द्रीय कारागारबाट उनी छुटेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेलाई पुनः टोलीमा सहभागी गराउने तयारी थालेको छ । उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै क्यानले यस्तो तयारी थालेको हो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा आवश्यक भएको र उनी शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए टोलीमा राख्ने प्रतिक्रिया दिएका छन् । ‘सन्दीपको फिटनेस अवस्था हेर्छौँ, यदि फिट भए राष्ट्रिय टोलीमा राख्छौँ,’ अध्यक्ष चन्दले भने, ‘सन्दीपसँग छलफल गर्छौँ र अवस्थाअनुसार प्रशिक्षणमा बोलाउँछौँ ।’
नेपालले आगामी दिनमा आइसिसी पुरुष क्रिकेट विश्वकप डिभिजन-२ मा प्रतिस्पर्धा गर्दै छ, जहाँ नेपालले १२ खेल खेल्न बाँकी छ । बाँकी खेलका लागि लामिछानेलाई टोलीमा झिकाउने चन्दले संकेत गरेका छन् । ‘मानसिक रूपमा दबाब पर्नु स्वाभाविक हो, दबाबलाई हटाएर खेलमा केन्द्रित भए टोलीको हकदार हुनेछन्,’ चन्दले भने, ‘उनी नेपालको मात्रै होइन, एसोसिएट राष्ट्रको गहना हुन् । सन्दीपलाई मैदानबाट बाहिर राख्न हुन्न भन्ने मेरो आशय हो ।’