काठमाडौं – नाबालिका बलात्कारको अभियोगमा केन्द्रीय कारागार सुन्धारामा रहेका क्रिकेटर सन्दीप लामिछानेमा ‘डिप्रेसन’ को संकेत देखिएको छ । सन्दीपको डिप्रेसन खराब अवस्थामा पुगिसकेको पाइएको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
केही दिनदेखि सन्दीपको बोली तथा व्यवहारमा परिवर्तन देखिएको घिमिरेले जानकारी दिए । सन्दीपलाई अहिले कारागारमै मनोपरामर्शविद् लगेर परामर्श दिन थालिएको छ । सन्दीपलाई दैनिक काउन्सिलिङ गर्नुपर्ने अवस्था देखिएको घिमिरेले बताएका छन् । कारागारमा छुट्टै कोठा नभएकाले काउन्सिलिङमा समस्या भएको जनाइएको छ ।
यता जेलर ईश्वरीप्रसाद पाण्डेले भने परामर्शविदलाई अन्य कैदी पनि डिप्रेसनमा रहेकाले उनीहरुलाई पनि परामर्श दिन आग्रह गरेका थिए । जेलर पाण्डेले पनि सन्दीपलाई परामर्श दिन एउटा टोली जेलमा आएको बताए । जेलर पाण्डेले भने अहिलेसम्म परिवारले आफूसँग सन्दीपको स्वास्थ्यको विषयमा कुनै जानकारी नगराएको बताएका छन् ।
लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन परेको छ । तर उच्च अदालतमा सुनुवाई हुन सकेको छैन । जिल्ला अदालतले भने पीडितको उमेर विवादमा थप कागजात मगाउन आदेश दिएको छ । सन्दीप पक्षले किशोरी नाबालिग नरहेको दाबीसहित कागजात बुझाएका छन् ।
दुई वटा जन्मदर्ता फेला परेपछि यसलाई पनि प्रमाणित गर्ने काम अदालतबाट भइरहेको छ । यस्तै किशोरीको जन्म मितिबारे पुष्टि गर्न अदालतले अस्पतालबाट कागजात मगाएको छ ।