मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – विदेश अध्ययनका लागि जान चाहने एकतिहाइभन्दा धेरै विद्यार्थीको ‘नो अब्जेक्सन लेटर’ (एनओसी) आवेदन नै अस्वीकृत हुने गरेको छ । शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)को लापरबाही तथा विद्यार्थीको बेवास्ताका कारण दैनिक यति धेरै एनओसी आवेदन रिजेक्ट हुने गरेका हुन् ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार शैक्षिक परामर्श केन्द्रले एउटा विद्यार्थीको डकुमेन्ट (नागरिकता, सर्टिफिकेटलगायत) अर्कोको आवेदनमा राखिदिने, पूरा कागजात नराख्ने (मेडिकल अध्ययनका लागि आवश्यक अनुमति नै नलिने) तथा कोर्सको अवधि कम हुने गरेका कारण एनओसीको आवेदन रिजेक्ट हुने गरेको बताए । ‘विद्यार्थीले अनलाइनमा पठाएका डकुमेन्ट हेरेपछि कि त भेरिफाइड हुन्छ कि रिजेक्ट हुन्छ,’ प्रमुख वस्तीले भने, ‘किन रिजेक्ट भएको भन्ने कारणसमेत विद्यार्थीलाई लेखेर पठाउँछौँ, यसले उनीहरूलाई सजिलो भएको छ ।’

गत शुक्रबार शाखाले सार्वजनिक बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी सेवालाई निरन्तरता दिएको थियो । शुक्रबार एनओसीको आवेदनमध्ये पाँच सय १८ भेरिफाइड भए भने दुई सय चार आवेदन रिजेक्ट भए । सो दिन कुल चार सय १६ आवेदन परेको थियो भने केहीले अघिल्लो दिन साँझ फारम भरेका थिए । त्यस्तै, गत बिहीबार (१४ पुस) कुल पाँच सय ८० आवेदन परेका थिए । अघिल्लो दिन साँझको फारमसहित चार सय भेरिफाइड भए भने एक सय ९० रिजेक्ट भए । बुधबार (१३ पुस) चार सय ६८ भेरिफाइड हुँदा दुई सय २५ रिजेक्ट भए । त्यस्तै, मंगलबार (१२ पुस) चार सय ८५ भेरिफाइड भए भने दुई सय ६ रिजेक्ट भएको शिक्षा मन्त्रालयको एनओसी शाखाले जनाएको छ ।

कन्सल्टेन्सीका कारण विद्यार्थीको एनओसी रिजेक्ट हुने क्रम बढेपछि शिक्षा मन्त्रालयमा कन्सल्टेन्सीको भूमिकाको प्रभावकारी अनुगमन हुनुपर्ने बहस चलेको छ । कतिपय कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयले लिखित रूपमा माफीसमेत मगाएको छ ।

टाइम्स इन्टरनेसनल एजुकेसन प्रालिले एउटा विद्यार्थीको सट्टा अर्को विद्यार्थीको शैक्षिक विवरण राखेर अनलाइन फारम भरिदिएको र किंग्स इन्स्टिच्युटले एउटाको सट्टा अर्को विद्यार्थीको अफर लेटर राखेर फारम भरिदिएको पाइएपछि आइन्दा यस्ता गलत क्रियाकलाप नदोहोर्‍याउने सर्तमा लिखित माफी मागेको शिक्षा मन्त्रालयका अधिकारीले जनाएका छन् । शाखा प्रमुख वस्तीका अनुसार एजुकेसन कन्सल्टेन्सीको असावधानी तथा गलत परामर्शको कारण विद्यार्थीले सास्ती भोग्नुपरेको बताए ।

एउटा देशको अध्ययनका लागि सटही गरेको विदेशी मुद्रा रिफन्ड नहुँदै अर्को देशमा अध्ययनका लागि विद्यार्थीको प्रोसेस गरिदिने, सटही गरेको रकम कन्सल्टेन्सीमार्फत नै फिर्ता गराउन लगाउने, विद्यार्थीको एनओसीलगायतका सक्कल कागजात कन्सल्टेन्सीमै राखिदिने, मन्जुरीनामा लिएर विद्यार्थीको एनओसी लिन आउने, समयमा अनलाइन फारम नभरी विद्यार्थीलाई अलमल्याउने गरेको पाइएको बताए । त्यस्तै, उपत्यकाबाहिरका विद्यार्थीको अनलाइन एप्लिकेसन भेरिफाई भएपछि तोकिएको मिति र समयअघि नै जहाजको टिकट बुक गराई होटेलमा विद्यार्थीलाई बसाउने गरेकोसमेत पाइएको वस्तीको भनाइ छ ।

रसिया र युक्रेनबीच जारी युद्धका कारण सरकारले ती देशमा अध्ययनका नाममा जान रोक लगाएको छ । तर, विद्यार्थीले रसिया अध्ययनका लागि दैनिक आवेदन दिने गरेका छन् । केही समय अघिसम्म रसियाका लागि दैनिक ३० देखि ४० जनाले एनओसी माग गर्दै आएकामा अहिले केही कमी आएको वस्तीले बताए । युद्धका कारण रसियामा जान निषेध गरिएको छ, तर कन्सल्टेन्सीले सही परामर्श नदिएका कारण एनओसीका लागि आवेदन गरिरहेका छन् । –नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया