काठमाडौं – अर्जेन्टिनालाई तेस्रोपटक विश्व च्याम्पियन बनाएका स्टार फरवार्ड लिओनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग सन् २०२४ सम्मको सम्झौता गर्ने भएका छन् ।
योसँगै क्याटलान क्लब बार्सिलोना पुनः फर्किने उनको सम्भावना तत्कालका लागि स्थगित भएको छ । पीएसजीसँग मेस्सीको सम्झौता आगामी समरमा सकिँदैछ। उनी पछिल्लो १८ महिनादेखि पीएसजीसँग आबद्ध छन् ।
अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएपछि बार्सिलोना क्लबका अध्यक्ष जोन लापोर्टाले मेस्सीलाई बार्सिलोना फर्काउन चाहेको कुरा सार्वजनिक भएको थियो । त्यसपछि मेस्सी पुनः बार्सिलोना फर्किने समाचारहरू प्रकाशित हुँदै आएका थिए । तर, अब मेस्सीले पीएसजीसँग सन् २०२४ सम्मको सम्झौता गर्ने भएका छन् ।
यसको मुख्य कारण च्याम्पियन्स लिगको दौडमा पीएसजीको अस्तित्व नै हो । पीएसजीसँगको सम्बन्धले च्याम्पियन्स लिगको विजेता बन्ने उनको सपना फेरि एकपटक साकार पार्न सक्छ । यही कारणले गर्दा उनले २०२४ सम्म क्लबसँग सम्झौता गर्न लागेका हुन् । मेस्सी बिदाबाट फर्केपछि सम्झौता हुने बताइएको छ ।
मेस्सीले पीएसजीसँग थप सम्झौता गर्नुको अर्थ उनी बार्सिलोनामा आबद्ध हुन सक्दैनन् भन्ने होइन । उनी २०२४ पछि बार्सिलोना जान सक्ने सम्भावना छ । ‘हामी पक्कै पनि उनलाई एक न एक दिन क्लबमा फर्काउने छौँ’, लापोर्टा भन्छन् ।