टोकियो – फिफा विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा यूएसए र इङ्ग्ल्याण्ड बराबरीमा रोकिएका छन्। अल बायेत स्टेडियममा सम्पन्न समूह ‘बी’ को खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्।
खेलमा राम्रो पकड बनाएको इङ्ग्ल्याण्ड फिनिसिङमा भने असफल भयो। इङग्ल्याण्डका ह्यारि म्यागुएरले डिफेन्समा राम्रो प्रदर्शन गरे। अर्कोतर्फ अमेरिकाका वेस्टन म्याकिनीले पाएको सजिलो अवसरलाई गोलमा परिणत गर्न सकेनन्। त्यस्तै क्रिस्टियन पुलिसिचको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएको थियो। अर्कोतर्फ इङ्ग्ल्याण्डका म्यासन माउन्टका केही उत्कृष्ट प्रहारहरुलाई अमेरिकी गोलकिपर मार्ट टर्नरले विफल पारिदिएका थिए।
इङ्ग्ल्याण्ड र अमेरिकाको बराबरीसँगै दुई खेल खेलेर ४ अंक जोडेको इङ्ग्ल्याण्ड समूह ‘बी’ मा शीर्षस्थानमा छ भने दोस्रो स्थानमा ३ अंक जोडेको इरान छ। पहिलो खेलमा इङ्ग्ल्याण्डसँग ६-२ गोलको ठूलो पराजय ब्यहोर्दै प्रतियोगितामा सुरुवात गरेको इरानले शुक्रवार २-० गोलले वेल्सलाई हराउँदै प्रतियोगितामा पुनरागमन गरेको थियो। एसियाली राष्ट्र इरानले अर्को खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै लगातार दुई खेलमा बराबरी गरेको अमेरिका तेस्रो र १ अंक जोडेको वेल्स तालिकाको पुछारमा छ।