काठमाडौं – विदेशबाट दसैं मनाउन घर फर्किँदै हुनुहुन्छ ? आफूलाई आवश्यक र मनपरेका सामग्री अथवा परिवारका लागि उपहार ल्याउँदै हुनुहुन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनकुन सामग्री ल्याउन पाइन्छ भनेर बुझ्दा सजिलो पर्न सक्छ ।
कुनकुन सामग्री ल्याउँदा भन्सार शुल्क लाग्दैन? कुन सामग्री ल्याउँदा कति भन्सार लाग्छ त ? नेपाल सरकार अर्थ मन्त्रालयले निजी प्रयोगका मालवाहक वस्तु सम्बन्धमा गरेको व्यवस्थाअनुसार विदेशबाट फर्किने व्यक्तिले उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुने व्यवस्था गरेको छ ।
- लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान ।
- उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि ।
- शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान जस्तैः ह्विलचियर, बैशाखी ।
- सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रूपैयाँ मूल्यसम्मको जवाहरातजडित सुनका वा चाँदीका साथमा ल्याएको गहना ।
- ट्याब्लेट, ल्यापटप, कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ एक/एक थान ।
- बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एक थान ।
- पेसागत यात्रुले प्र योग गरी ल्याएको सामान्य प्रकारका सामान एक/एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप)।
- खेलाडीको खेलकुदसम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याडमिन्टन सेट। गवैयाको सामान्य बाजा (जस्तैः गितार हार्मोनियम, तबला, जस्ता सामानहरू) ।
- सात किलोग्रामसम्म खाद्य परिकार ।
- मदिरा एक लिटरसम्मको एक बोतल ।
भन्सार महसुल तिरेर कुन कुन समान ल्याउन पाइन्छ ?
- नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका देहाय बमोजिममा सबै वा कुनै मालसामान लाग्ने महशुल तिरी ल्याउन पाइन्छ ।
- टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ मेसिन, पंखा, रेडियो, एक/एक सेट ।
- शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्स आदि बढीमा १५ थान ।
- घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकरजस्ता) दुई/दुई थान ।
- दस किलोसम्म खाद्य परिकार ।
- व्यावसायिक पेसामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान ।
- नितान्त घरव्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई/दुई थान ।
यात्रुले ल्याउन पाउने निजी व्यवहारका सामान कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सकिने भन्सार विभागले जनाएको छ ।
माथिको सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐनअनुसार महशुल लाग्नेछ ।
- छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा १५ हजार रूपैयाँसम्म ।
- एक वर्षभन्दा बढी जतिसुकै अवधि विदेशमा बसी फर्केमा २५ हजार रूपैयाँसम्म ।
- १६ वर्षभन्दा कम उमेरका यात्रुले छुट सीमाको ५० प्रतिशत शुल्क तिर्नु पर्नेछ ।
विदेशबाट फर्किएका यात्रुहरुले ल्याउने काँचो सुनका सम्बन्धमा छुट्टै व्यवस्था गरिएको छ । यात्रुले ५० ग्रामसम्म सुन ल्याउँदा प्रति दस ग्रामको नौ हजार पाँच सय रूपैयाँ, थप ५० ग्रामसम्म प्रति दस ग्रामको दस हजार पाँच सय रूपैयाँ भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।