Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडाैं – विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ ।

देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसददेखि नागरिकस्तरमा पनि यसबारेमा नियमितरुपमा चर्चा भइरहेको छ । नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिती घटेको देखाइन्छ । तर राम्रो देखिनका लागि आयात गरिएको सौन्दर्य सामग्रीको मात्रा हरेक महिना वृद्धि भएको पाइएको छ ।

ती सामानको आयातमा मात्रै अर्बौं बराबरको रकम विदेशिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ओठको शृङ्गारका सामग्रीको आयातमा मात्रै रु ३० करोड ८३ लाख ५१ हजार रकम बाहिरिएको छ ।

विशेषगरी महिलाले प्रयोग गर्ने लिपिस्टिकलगायतका सामग्रीको आयातमा उक्त परिमाणको रकम बाहिरिएको हो । स्वास्थ्यका दृष्टिले लिपिस्टिकको प्रयोगलाई राम्रो मानिँदैन । चालु आवको जेठ मसान्तसम्म कूल दुई लाख ३७ हजार ४२९ केजी बराबरको ओठ राम्रो बनाउने सौन्दर्यका सामग्री आयात भएको छ । ती सामग्रीको आयात गर्दा सरकारले रु ११ करोड ३७ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भारतबाट मात्रै रु १२ करोड ५९ लाख ५३ हजार मूल्य बराबरको करिब ४० हजार ७६३ केजी लिपिस्टिक लगायतका सामग्री आयात भएको छ ।

त्यस्तै चीनबाट एक लाख ९० हजार ६८७ केजी बराबरको सामग्री रु ११ करोड ६० लाख ४८ हजार मूल्यमा आयात भएको छ ।

यस्तै आँखाको शृङ्गारमा प्रयोग हुने सामानको आयातका लागिसमेत निकै रकम खर्च भएको छ । ती सामानको आयातका लागि २२ करोडभन्दा बढी रकम विदेशिएको छ । चालु आवको ११ महिनामा ९६ हजार ५३ केजी बराबरको त्यस्ता वस्तु आयात भएका छन् । जसका लागि रु २२ करोड ८१ लाख ९७ हजार बराबर रकम बाहिरिएको छ । यसबाट राज्यले रु आठ करोड ६४ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ । आँखा सजावटका सामान भारतबाट मात्रै रु १० करोड ५६ लाख २६ हजार मूल्य बराबरको कूल छ हजार ६२९ केजी परिमाणमा आयात भएको छ ।

त्यस्तै चीनबाट रु छ करोड ९९ लाख २७ हजारमा ७८ हजार ३५३ केजी आयात भएका छन् । त्यस्ता वस्तु इटाली, कोरिया, लक्जम्वर्ग, अमेरिका, पोल्याण्डलगायत देशबाट आयात हुने गरेको विभागले सार्वजनिक गरेको विवरणमा छ ।

त्यस्तै मेकअपका अर्काे सामानका रुपमा रहेको क्रिम पाउडरको आयातमासमेत करोडौँ रकम खर्च हुने गरेको छ । विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा रु ९३ करोड ४९ लाख ९६ हजारका क्रिम पाउडर आयात भएको छ जसबाट सरकारले रु ३५ करोड २९ लाख ८० हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

यस अवधिमा विभिन्न मुलुकबाट चार लाख १७ हजार दुई केजी पाउडर खरिदका लागि रु २८ करोड ६६ लाख ४२ हजार मूल्य विदेशिएको छ । यो अवधिमा अनुहारमा लगाउने क्रिममात्रै रु ६४ करोड ८३ लाख ५५ हजार मूल्यमा दुई लाख ६२ हजार ७२५ केजी मुलुकमा भित्रिएको छ ।

विभागका अनुसार यस अवधिमा २४ हजार ४१८ लिटर नङमा लगाउने ‘नेलपोलिस’ आयात भएको छ । एघार महिनामा नेपालीले रु पाँच करोड नौ लाख २३ हजार मूल्य खर्च गरेर नेलपोलिस आयात गरेका छन् । मुख्यगरी त्यस्ता पोलिस चीन, भारत, कोरिया, क्यानडालगायतका मुलुकबाट आयात हुने गरेको पाइएको छ । यस अवधिमा चीनबाट रु दुई करोड ५८ लाख ४१ हजार तथा भारतबाट रु दुई करोड ३९ लाख १८ हजार बराबरको नेलपोलिस आयात भएको छ ।

तपाईको प्रतिक्रिया