काठमाडौँ – मंगलबार (३१ मे) मा अकस्मात मृत्यु भएका चर्चित पाश्र्वगायक कृष्णाकुमार कुन्नथ (केके) को पोस्टमार्टम रिर्पोट आइसकेको छ । कोलकत्तामा भएको कन्सर्टमा लगातार २ घण्टा प्रस्तुति दिएका केकेको केही समयपछि नै अचानक मृत्युको खबर आयो । उनको अकस्मात मृत्युले सबैलाई चकित बनाएको थियो ।
कन्सर्टमा हुँदै एक्कासि मुटु दुखेकाले उनलाई होटल लगिएको थियो । तर, होटलमा पुग्दासम्म उनको पीडा झनै बल्झिएपछि त्यहाँबाट सीधै अस्पताल लगिएकोमा डाक्टरले उनको निधन भइसकेको पुष्टि गरेको थियो ।
केकेको टाउको र अनुहारमा चोट पनि देखिएको भन्दै कतै मारपिट वा हत्याको आशंकामा उनको पोस्टमार्टम पनि गरियो ।
बिहीबार उनको पोस्टमार्टमा रिर्पोट आइसकेको छ । नवभारत टाइम्सका अनुसार केके को पोस्टमार्टम रिर्पोटमा उनको निधन हृदयाघातबाट भएको पुष्टि गरेको छ । रिर्पोटका अनुसार गायक केकेको फोक्सो र कलेजोको अवस्था पनि एकदमै बिग्रिसकेको थियो ।
पोस्टमार्टमको रिर्पोट आएसँगै उनको आजै (बिहीबार) नै दिउँसोको १ बजेदेखि अन्तिम संस्कारको तयारी सुरु भएको छ । यतिबेला, मुम्बईस्थित उनको घरमा अन्तिम संस्कारका लागि थुप्रै सेलिब्रेटीहरू उपस्थित भइरहेका छन् ।
उनको पार्थिव शरीर बुधबार साँझ नै कोलकत्ताबाट मुम्बई ल्याएको थियो ।