काठमाडौं – भारतीय अभिनेता सोनु सुद परोपकारी कार्यले चर्चित छन् । उनको यस्तो कल्याणकारी कार्य भारतमा मात्र सीमित छैन, उनले नेपालमा समेत सहयोगी हात बढाएका छन् । सन् २०२१ मार्चमा उनले मेरुदण्डको पक्षघातबाट पीडित नेपाली किशोर मधु पौडेलको शल्यक्रिया खर्च व्योहोरेका थिए । अभिनेता सुदले अर्की एक नेपाली किशोरीको पढाइ खर्चको जिम्मा लिएका छन् ।
वीरगञ्जकी बालिका मुस्कान कर्णको पढाइ खर्च व्योहोर्ने जानकारी सुदले ट्वीटरमार्फत दिएका छन् । ‘नेपालमा सबैलाई भनिदिनू, अब पूरा जिन्दगीको लागि तपाईंको पढाइको व्यवस्था भएको छ,’ सुदले ट्वीटरमा लेखेका छन् ।
अब सोनु फाउण्डेसनले ती नेपाली बालिकाको पढाइ खर्च व्योहोर्ने भएको छ । ट्वीटरमा विद्यापति शंकर नामक एक प्रयोगकर्ताले बालिका मुस्कानलाई सहयोग गर्न सोनुलाई आग्रह गरेका थिए । उनको जवाफमा सुदले सहयोगको वचन दिएका हुन् ।
कोरोना महामारीपछि सोनु सुदले कल्याणकारी कार्यमा समेत सक्रियता बढाएका छन् ।
नेपाल में सबसे कह देना,
अब पूरी जिंदगी के लिए आपकी पढ़ाई का इंतजाम हो गया है। @SoodFoundation 🇮🇳 https://t.co/93BvmGSCDV— sonu sood (@SonuSood) April 26, 2022